नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

१८ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य लिइएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत काली र नाम्सी खोलाको पुल बनिरहेको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी छ । ‘दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ’, उनले भने ।

सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ ।