निर्धारित समयमै काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

१८, भदौ काठमाडौं । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्र्याक० तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रुतमार्ग जुनसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

“द्रुतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भने । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ ।

रु दुई खर्ब ११ अर्ब ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रुतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरे । देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उनले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए । उनले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए ।