
१८ भदौ, काठमाडौं । सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो ।
१५ साउनमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिएको पुरस्कार वार्षिक रुपमा वितरण हुन नसकेको भन्दै ध्यानाकर्षण जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयले त्यसको तयारी गरेर १ असोजमा पुरस्कार वितरण गर्ने तय गरेको छ ।
१४ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेर पुरस्कार तथा अनुदान सहयोगका लागि आवेदन माग गरिएको छ । मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई यो पुरस्कार तथा अनुदान सहयोग दिने व्यवस्था कार्यविधिमा छ ।
