१९ भदौं ।काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ।
भ्रष्टाचार नियन्त्रण,लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको भन्दै त्यसका विरुद्ध सदन र सडक संघर्ष दुवै चर्काउने तयारीमा रहेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।
मंगलबार पार्टीको निर्वाचन आयोग,अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको जिकिर गर्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताएका हुन्।
प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा गम्भीर नभएको आरोप लगाएका छन्।उनले दुई दल सम्मिलित सरकारले जनताको अधिकार कुंठित गर्ने चेष्टा गरेकाले त्यसविरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको उद्घोष गरेका छन्।
