
सीता पौडेल(अर्चना)
१८ भदौ,काठमाडौं ।नदीका दायाँबायाँ छोड्न निर्धारण गरिए भन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाउँदै आएको एमाले काठमाडौंले यस सम्बन्धमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेको छ।
आज मंगलबार बिहान एमाले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलासहितको टोली बुढानीलकण्ठमा रहेको देउवा निवास पुगेर यस विषयमा छलफल गरेको एमाले काठमाडौंका सचिव राजेश शाक्यले बताए ।
एमाले काठमाडौंका अध्यक्ष दिपक निरौलाका अनुसार छलफलमा उनीहरुले काठमाडौं उपत्यकाका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णय गलत रहेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको र न्यायिक पुनरावलोकन गर्न समेत सरकारसँग माग गर्दै आएको पूनःस्मरण गराए।भने,साभापति देउवाले पनि एमाले काठमाडौंले सरकारसँग राखेको माग जायज भएको र यस प्रकृयामा अगाडि बढ्न सुझाब समेत दिए।
अध्यक्ष निरौलाले भने, ‘साभापतिले पनि यस विषयलाई गम्भिर ढंगले लिनुभएको छ ।’ ‘उहाँले पुनरावलोकनको माग जायज भएको र यसमा आफ्नो तर्फबाट सकारात्मक तवरबाट सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ’ उनले भने ।

यस प्रकारको निषेधको प्रावधानले त्यस क्षेत्रका मानिसको मानव अधिकार तथा सम्पत्तिको हकसम्बन्धी अधिकार कुण्ठित हुने,हजारौं संख्याका मानिसहरुलाई समस्या पर्ने,समाजमा आतंक मच्चिन सक्ने र अराजक गतिविधि बढ्न सक्ने भन्दै सो हुन नदिने एमाले काठमाडौको भनाई छ।
साथै एमाले काठमाडौंले नेपालको संविधानको सैद्धान्तिक पक्ष र यसले तय गरेको संरचानागत कार्यप्रणालिको सिद्धान्तको समेत परिपालना गर्न सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।
एमाले काठमाडौंले उपत्यकाका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाउँदै यसलाई तत्काल खारेज गर्नसमेत भनेको छ।
