
२१ भदौ, काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ।
शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइने तीज पर्वले नेपाली सामाजको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ।यो नेपाली नारीहरुको मौलिक चाड÷पर्व हो।
आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्।सत्य युगमा आजैको दिन पार्वतीले भगवान महादेव÷शिवलाई स्वामीका रुपमा पाउँ भनि निराहार तथा निर्जला जस्तो कठोर तपस्या गरेर महादेव स्वामी पाएकी थिइन् भन्ने कथा सुन्न र पढ्न पाइन्छ।
आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास पनि छ । धर्मशास्त्रका जानकारहरुका अनुसार सबै नारीहरुले निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता छैन।व्रत निराहार,जलाहार र फलाहार गरी तीन किसिमबाट बस्न सकिने उनिहरुको भनाई छ।सक्नेले निराहार,नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बसेर पनि शिवपार्वतिको उपासना गर्न सकिने धर्मशास्त्रका जानकारहरु बताउँछन्।
यस दिन विवाहित नारीहरुले अटल सौभाग्यको कामनाका लागि,सन्तान तथा पारिवारिक सुख,शान्ति,समृद्धि र कल्याणका लागि तथा अविवाहित नारीहरुले असल वर प्राप्तिका लागि तीजको व्रत बस्ने चलन रहिआएको छ।
यहि जनविश्वासका साथ नेपाली नारीहरु आज बिहानै उठेर नुहाइधुवाई गरि चोखो कपडा लगाएर सोह्रो सिंगार गरेर नजिकका शिवालयहरुमा जम्मा भएका छन् र पुजा आराधनासँगै तीजका भाकामा नाचगान गरिरहेका छन्।
आज पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा ब्रतालुहरु र तीजको रमाइलो हेर्नेहरुको घुइँचो नै लागेको छ।
तृतीयाका दिन हरितालिका व्रत,चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
