आज ऋषिपञ्चमी पर्व,सप्तऋषिको पूजा गरी मनाइँदै

२३भदौ,काठमाडौं।आज ऋषिपञ्चमी पर्व ।

नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषि(अत्रि,गौतम,भारद्वाज,जमदग्नि,वशिष्ठ,कश्यप र विश्वामित्र)को पूजा आराधना गरी धुमधामका साथ मनाउँदैछन्।

यसलाई ऋषिपञ्चमीको पूजा भन्ने गरिन्छ।सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।

प्रत्येक वर्ष भाद्र  शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नेपाली नारीहरुले आज बिहानै उठेर कसैसँग नबोली नजिकको नदी,खोला,ताल,तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने,गाईको गोबर,माटो एवं खरानी लगाई स्नान गर्दछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनृुसारा ऋषिपञ्चमी ब्रत महिलाहरुले मात्र गर्ने शास्त्रीय वर्णन रहेको छ । किनभने महिला रजस्वला भएका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।

नारीलाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी,दोस्रो दिन ब्रह्मघातिनी,तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ।यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर,माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वर्णन गरिएको पाइन्छ ।