
२३, भदौ काठमाडौं। सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्याउने भएको छ ।
टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिए। “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्याउने गरी योजना बनाएका छौँ,” उनले भने।
फिक्स्ड प्रविधिमा आधारित टेलिकमको एफटिटिएच अहिले ७७ जिल्लाका तीन सय वटा स्थानीय तहमा विस्तार भइसकेको छ । प्रायः धेरै स्थानीय तहमा अनलाइनमा आधारित सेवा उपलब्ध रहेकाले बाँकीमा पनि सो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट पु¥याउने योजनामा काम हुने प्रबन्ध निर्देशक अर्यालले बताए।
टेलिकमले उपलब्ध गराउने एफटिटिएचमा इन्टरनेट, टेलिभिजन र टेलिफोन सुविधासमेत उपलब्ध छ । अहिले ७७ जिल्लामध्ये छ वटा जिल्लामा टेलिभिजन सुविधा भने उपलब्ध छैन । ती जिल्लामा माइक्रोवेभमार्फत कनेक्सन पुर्याइएकाले उच्च गतिको इन्टरनेट नपुग्ने भएकाले टेलिभिजन सेवा दिन नसकिएको अर्यालले बताउनुभयो । उनले भने , “अब भने ती जिल्लामा पनि माइक्रोवेभलाई फाइबरबाटै विस्थापित गर्ने र त्यहाँ पनि टेलिभिजन सेवा पु¥याउने लक्ष्य छ ।”
चार वर्षका लागि टेलिकमको नेतृत्वमा पुग्नुभएका प्रबन्ध निर्देशक अर्यालले टेलिकमले नयाँ प्रविधि भित्र्याउने, फाइभजी सेवा सुरु गर्ने, अन्तर्राष्ट्रियस्तरमा लागु भएका मार्केटिङ अभ्यास अवलम्बन गर्नेलगायतका कार्य गर्ने योजना रहेको बताउनुभयो । डेटा सेन्टर सञ्चालनमा ल्याउने, सेवाको गुणस्तर बढाउने, फोरजी सेवालाई थप विस्तार गर्ने योजना पनि रहेको उनले बताउ।
काठमाडौँ उपत्यकाबाहिर टेलिकम टावरको सङ्ख्या थपेर सेवाको गुणस्तर बढाउने टेलिकमको योजना छ । त्यस्तै हाल सञ्चालनमा रहेका टावरलाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणसँग पनि सहकार्य गर्ने योजना रहेको अर्यालले जानकारी दिए ।
टेलिकमले आफ्नो वितरण प्रणालीलाई पनि थप सेवा उपलब्ध गराएर विस्तार गर्ने भएको छ । कम्पनीका देशभर रहेका वितरकले सिम कार्ड र रिचार्ज कार्ड मात्र बिक्री गरिरहेकाले ती वितरकमार्फत नै एफटिटिएच सेवा उपलब्ध गराउने गरी योजना पनि रहेको अर्यालले बताए ।
