२५, भदौं । यही भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको आज बिदाइ गरिएको छ ।
नेपाल भलिबल सङ्घले मङ्गलबार नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो । नेपाली टोली बिहीबार माल्दिभ्स जाने सङ्घले जनाएको छ । पुलिसले नेपालको लिगको विजेताका रूपमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो ।
पुलिसले टोलीमा एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका चार खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काठमाडौँमा सम्पन्न काभा नेसन्स लिगको रजत पदक विजेता टोली थियो ।टोलीमा भुटानमा सम्पन्न काभा बिच भलिबलमा स्वर्ण पदक विजेता कमला पुन र मनीषा चौधरी पनि समावेश हुनेछ ।
