२६, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको बताएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले प्रतिवेदनमा औँल्याइएका विषय कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय र पदाधिकारीले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे।
सो क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षलगायत प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले जानकारी दिए। प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा परिषद्बाट भएका निर्णय, सम्पादित प्रमुख कार्यको विवरण तथा अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा विश्लेषण समाविष्ट छ ।
वार्षिक प्रतिवेदन पेस गर्दै परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिस्थितिका आयाम र त्यसबाट उत्पन्न चुनौतीका स्वरूप समय प्रवाहसँगै परिवर्तन हुन गइरहेको स्पष्ट पारे। उनले मुख्य शक्ति राष्ट्र र क्षेत्रीय शक्ति राष्ट्रबीच आर्थिक, सामरिक र रणनीतिक प्रतिस्पर्धाको होडबाजीका कारण अन्य राष्ट्रको वैदेशिक, आर्थिक तथा सम्बन्ध सन्तुलन नीतिहरू क्रमशः प्रभावित हुँदै गइरहेको बताए।
