
२८, भदौ कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् ।
सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी दर्किन थालेपछि झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ’, बोहराले भने, ‘पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिँदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो ।
’डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने थाहासम्म नभएको सुनाउँदै बोहोरा भन्छन्, ‘त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ ।’सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिहीनले उपयुक्त स्थान फेला पारेका छैनन् । शुक्लाफाँटा नगरपालिकासँग अनुनुयविनय गरे पनि बेवास्ता गरिएको मानध्व लुहार बताउँछन् ।
मजदुरी गर्न नपाउँदा हातमुख जोर्न समस्या हुने मानबहादुर बोहराले बताए । ‘झुपडीमा मुसो छिरेपनि खाली पेट फर्कने अवस्था छ’, उनले भने, ‘एक दाना अन्न छैन, राहतका लागि नगरपालिकादेखि दातृ निकायसम्म गुहार्दै आएका छौँ, कतैबाट अहिलेसम्म सहयोगी हात अगाडि बढ्न सकेका छैनन् ।’भोकभाकै बस्नुपर्ने अवस्था आउन लागेको उनले सुनाए । मजदुरी नपाइँदा खानकै समस्या भएपछि चार परिवार भारततर्फ पलायन भएका छन् ।
