
३०, भदौं चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।
जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहु वर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहु वर्षीय बिरुवा रहेका छन् ।
बहु वर्षीय बिरुवा आर्थिक वर्ष २०७८ र ७९ देखि उत्पादित बिरुवा हुन् । त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो ।
