सीता पौडेल(अर्चना)
३० भदौ,काठमाडौं ।
उपत्यकाका नदी किनारामा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसलाप्रति असहमति जनाएर पुनरावलोकनको माग गर्दै आएको नेकपा (एमाले) तारकेश्वरले नगर प्रमुख(मेयर) कृष्णहरि महर्जन समक्ष ६ हजार ४ सय ८५ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ।

आज आइतबार एमाले तारकेश्वर नगर कमिटिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजु तिमिल्सिना,पूर्व मेयर रामेश्वर बोहरा,११ वटै वडा कमिटि,प्रदेश कमिटि, क्षेत्रीय कमिटि लगायत एमाले तारकेश्वरका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु र प्रभावितहरु गरि करिब एक सय जनाभन्दा बढीको उपस्थितिमा नगरपालिका मै गएर मेयर महर्जन समक्ष सो हस्ताक्षर संकलनसहित ज्ञापनपत्र बुझाएको नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं तारकेश्वर नगर कमिटिका इन्चार्ज सिताराम रेग्मीले बताए।

उनले उपत्यकाका नदी किनारमा सरकारले तोकेको मापदण्ड भन्दा थप २० मिटर गरि नयाँ मापदण्ड अन्तर्गत ४० मिटर वरपरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला त्रुटीपूर्ण रहेकोले पुनरावलोकन गर्नु पर्ने आवश्यकता औंल्याउँदै एमाले तारकेश्वरले यहि भदौ २६ गतेदेखि भदौ ३० गते आइतबार बिहानसम्म पनि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको र सो अभियान अन्तर्गत संकलित हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको स्पष्ट पारे ।

इन्चार्ज रेग्मीले यो मापदण्ड लागु गर्दा प्रभावितहरुलाई सरकारले मुआब्जा समेत दिन नसक्ने र तत्काल स्थानान्तरणको व्यवस्थापन समेत गर्न नसक्ने देखिएकाले यसले धेरै मानिसहरुको मौलिक हक,अधिकारको हनन् हुने भन्दै यसको रक्षार्थ एमालेले यस प्रकारको माग गर्दै अधियान सञ्चालन गरेको पनि बताए।
उनले भने,‘सरकारले प्रभावितहरुलाई मुआब्जा दिन समेत बजेटले थेग्ने देखिदैन।भने,तत्काल तत् तत् ठाउँबाट हटाएर प्रभावितहरुलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन।तसर्थ जनताले दुःख र पीडा भोग्न बाध्य हुने यो फैसला कार्यान्वयनको कुनै अर्थ छैन।जनताको मौलिक हक,अधिकारको रक्षा गर्दै यसको पुनरावलोकनका लागि सम्मानित अदालतलाई आग्रह गर्दर्छाै।’

उक्त हस्ताक्षर संकलनसहित ज्ञापनपत्र बुझ्दै मेयर महर्जनले आफुलाई पनि सर्वाेच्चको यो फैसला ठीक नलागेको भन्दै एमाले तारकेश्वर नगर कमिटिको अभियानमा पूर्ण समर्थन रहने बताए।साथै उनले एमाले तारकेश्वर नगरकमिटिले गरेको यस अभियानमा व्यक्तिगत र पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
जनताको अधिकारको सुरक्षार्थ सबै एकजुट हुनु जरुरी रहेको भन्दै मेयर फोरमका कोषाध्यक्ष समेत रहेका मेयर महर्जनले सो फैसला पुनरावलोकनका लागि थप दवाब सृजना गर्न मेयर फोरमबाट समेत पूर्ण समर्थन र सहयोग रहेने उद्घोष गरे।
उनले भने,‘जनताको पीर,मर्का र घाउमा मलम पट्टी लगाउने काममा यो र त्यो पार्टीले गरेको काम नभनी सबैको साझा दायित्व बोध गर्दै सहयोग गर्नु एक कुशल नेतृत्वको दायित्व र कर्तव्य हो।म नेपाली कंग्रेस पार्टीबाट जितेर मेयर भएतापनि मेरा लागी नगरबासीको मुद्धा साझा मुद्धा हो।’

‘नगरप्रमुखको हिसाबले मात्रै नभएर म तपाइँहरुको दाइ,भाइ,भतिजको नाताले पनि तपाईँका सुख दुःखमा म सधैं सँगै हुन्छु र हुनेछु।सकारात्मक कुराको समर्थन र नकरात्मक कुरामा रचनात्मक सुझाब सल्लाह दिनु हुन पनि म तपाइँहरुसमक्ष आग्रह गर्दछु।जायज माग उठाउनु भएकोमा धन्यवाद छ।मेयर फोरमको तर्फबाट पनि पूर्ण साथ र समर्थन रहन्छ।’उनले भने।

नेकपा (एमाले )काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले नदी किनाराको उक्त नयाँ मापदण्डप्रति आपत्ति जनाउँदै नेकपा (एमाले )काठमाडौं जिल्ला कमिटीले ११ वटै पालिकाका नगर कमिटिहरु र विभिन्न जनवर्गीय संगठनहरुलाई पुनरावलोकनको मागमा थप समर्थन जुटाउन हस्ताक्षर संकलनका लागि आव्हान गरेको बताए।
एमाले काठमाडौंका सचिव राजेश शाक्यले सो फैसलाले सरकारले २०६५ मा तोकेको मापदण्ड अनुसार नदीको वरपर,सानासाना घर–घडेरी किनेर बसोबास गरिरहेका जनतामाथि अन्याय मात्र होइन अपराध हुने भन्दै एमाले काठमाडौंले पुनरावलोकनको माग गर्दै आइरहेको बताए।
साथै प्रभावितहरुको मौलिक हक अधिकारसमेत कुण्ठित हुन जाने मात्रै नभएर धेरै मानिसहरुको घरबारविहिन हुने र समाजीक द्धन्द्ध र अशान्ती सृजना हुने भन्दै एमाले काठमाडौंले यसको पुनरावलोकनको मागका लागि जनसमर्थन जुटाउने अभियानमा अगुवाइ गर्दै आइरहेको जनाएको छ ।
सोही अनुसार आइतबार काठमाडौंका ११ वटै पालिकामा एकै समयमा हरेक नगरभित्रका प्रभावितहरुबाट संकलित हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ का अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए।
साथै एमाले क्षेत्र नं ७ का सचिव बलराम धितालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजे तत्तत् पालिकाहरुमा एकैचोटी उक्त संकलित हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको थियो।कतिपय पालिकाहरुका मेयरहरु उपत्यका बाहिर र देश बाहिर गएकाले उपमेयरसमक्ष सो संकलित हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइएको सचिव धितालले बताए।
