३१, भदौ काठमाडौं । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्को यथाशीघ्र गठन लगायतका देशको सडक सुरक्षाको दिगो समाधानका र केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन् ।
गत असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ ।त्रिशूली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन् ।
देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरुद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा अभियन्ताहरूले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन प्रधानमन्त्रीलाई सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले आग्रह गरेका छन् ।
