
३१, भदौ बुटवल। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दावी गरे ।‘अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ’–पौडेलले भने–‘सरकारको स्थिरतासंगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’
विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बताए। ‘निराशाबाट आशाबादी र क्रमश अनुकुलतामा बदल्ने प्रयास भइरहेको छ’ उनले भने ।
