
११, असोज काठमाडौं । भारी वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।
अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।
मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।विभागका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको असर आइतबारसम्म देखिने छ ।
