वर्षाले काठमाडौंको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

१२, असोज काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् ।

भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रीधारा फिडर बन्द छ ।टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् ।