१३, असोज काठमाडौं । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।
पुरिएका सवारीसाधन धुजा धुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ ।
पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्रा टुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए ।गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसको भने यकिन भएको छ ।
