आज पापाङ्कुशा एकादशी व्रत गरिँदै

२७ असोज,काठमाडौ‌ ।आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी व्रत गरिँदै छ ।

शास्त्रीय मान्यतानुसार यस एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विश्वास गरिन्छ। पाङ्कुशेति विख्याता सर्वपापहरा परा’ भनेर यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेका लक्ष्मीनारायण भगवानको पूजा–अर्चना गर्ने चलन छ।

यस एकादशीले स्वर्ग,मोक्ष,आरोग्यता,अन्न,धन आदि प्रदान गर्दछ भन्ने विश्वासले पनि यो व्रत गर्ने गरेको पाइन्छ ।

यस एकादशीको व्रत गर्नाले गङ्गा,गया,काशी,कुरुक्षेत्र जस्ता तीर्थहरुको दर्शन गरेर भन्दा बढी पुण्य मिल्ने धार्मिक मान्यता रहिआएको छ।हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ।

यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ।कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ ।

यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ ।बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ भन्ने गरेको पाइन्छ।

आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ,त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ।

दशैंको एकादशी भएकाले आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि जारी छ ।टाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका थाप्न  जाने गर्छन् ।