
६ कार्तिक काठमाडौं।पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका पार्टीका तीन नेतालाई नेकपा एमालेले ७ दिने स्पष्टीकरण सोधेको छ ।
एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई स्पष्टीकरण सोधेको हो ।
एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे ,केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र सधैं फरक मत राख्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई समेत स्पष्टीकरण सोधेको जनाएको छ ।
उनीहरूलाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्दै स्पष्टीकरण सोधिएको एमालेका एक नेताले बताए ।
यस्तो छ — स्पष्टीकरण पत्र :-
२०७२ सालको महाभूकम्पका कारण हाम्रो पार्टीको बल्खुस्थित केन्द्रीय कार्यालय भवन पूर्णरूपमा क्षति भएपश्चात् विभिन्न ठाउँमा पार्टी कार्यालय भाडामा सञ्चालन गर्दै आएकोमा पछिल्लो समय च्यासलास्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवन भाडामा लिई पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको थियो ।
प्रत्येक वर्ष र विशेष गरी यस वर्षको बाढीले पटकपटक कार्यालय डुबानमा परी पार्टीका नियमित पार्टी गतिविधि महत्त्वपूर्ण सामग्री, दस्ताबेजहरू तथा पुस्तकालय समेत क्षतिग्रस्त भएको सञ्चालमा गम्भीर वाधा पुगेको विषयमा तपाई स्वयं जानकार नै हुनुहुन्छ महाभुकम्प र प्राकृतिक विपद्ले गम्भीर क्षति पुन्याएको समयमा राज्य बाहेकका अन्य निकाय र पुनर्निर्माण काम अघि अन्तर्राष्ट्रिय समुदाय समेतबाट सहायता परिचालित गरी राहत, उद्धार बढाइने गरिन्छ ।
बल्खुस्थित मदन नगरमा पार्टीको पुरानो कार्यालय भवन रहेको स्थान समेत डुबानकै जोखिममा रहेको नदी किनाराको जमिनमा भवन लगायतका संरचना निर्माणका सन्दर्भमा नयाँ मापदण्ड जारी भएपछि उक्त स्थानमा पार्टी कार्यालय भवन निर्माण गर्ने अवस्था नरहेको तथ्यसँग पनि तपाई जानकार नै रहेको हुनुपर्दछ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले भवन निर्माणको सन्दर्भमा पार्टी सदस्य, समर्थक शुभेच्छुकहरूलाई यथाशक्य सहयोग गर्न आह्वान गरेको थियो ।
पार्टी कार्यालय भवन निर्माणको लागि जमिन र स्रोत दुवै अपर्याप्त रहिरहेकै समयमा पार्टीका शुभेच्छुकबाट जमीनदान सम्बन्धी प्राप्त प्रस्तावलाई पार्टीको केन्द्रीय सचिवालयको ३८ औँ बैठकले उपयुक्त आवश्यक ठहर गरी निर्णय गयो र भवनको शिलान्यासमा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय निकाय र मातहतका उपलब्ध हुनसक्ने पार्टीपंक्तिलाई उपस्थितिको लागि अनुरोध गरेको तथ्य स्पष्ट नै छ ।
तर, पार्टी अध्यक्षबाट शिलान्यास गरिएको पार्टी कार्यालय भवन र जग्गा प्राप्तिका सन्दर्भमा पार्टीको संस्थागत निर्णय विपरित तपाईँले दिनु भएको अभिव्यक्तिले नेकपा एमालेको विधान २०४९ ९२०७८ संशोधनसहित०को धारा ८० को उपधारा ३ को उल्लङ्घन गरेको र पार्टीको प्रतिष्ठा मर्यादामा आँच पुऱ्याउने देखिएकोले पार्टी केन्द्रीय सचिवालयको ३९ औँ बैठकको निर्णयअनुसार तपाईँलाई सोही विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ?सोको आधार र कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न अनुरोध छ ।
