
२१ कार्तिक,काठमाडौं।चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम भएका छन्।उनको ‘सन्तानको फोटो’ कथाले प्रथम स्थान हासिल गर्न सफल बनाएको हो।
मंगलबार चक्रपाणि स्मारक प्रतिष्ठानले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणि स्मारकस्थलमा आयोजना गरेको उत्कृष्ट कथा पुरस्कार समारोहमा कथाकार ठकुरीको सो कथाले उत्कृष्ट कथाको पुरस्कार प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए।
यसैगरि प्रतियोगितामा मध्यपुरथिमि नगरपालिका–१ लोहकिल्थली भक्तपुरका मनिषकुमार शर्मा ‘समित’ को ‘मैले नभित्र्याएकी बुहारी’ले दोस्रो र रुपक अलंकारको कथा ‘बङ्गाली बाबा’ले तृतीय पुरस्कार हासिल गर्न सफल भएको पनि उनले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने कथाका लागि ३० हजार,दोस्रो हुने कथाका लागि २० हजार र तेस्रो हुने कथाका लागि १० हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ।
प्रकाश नेपालीको कथा ‘मेलम्ची कहिले सुक्छ सरकार’ र अनिता पन्थीको ‘जुगुप्सा’ कथाका लागि क्रमशः रु पाँच हजारका दरले ‘आरुषी महर्जन’ गुणवत्ता पुरस्कार प्रदान गरिएको पनि उनले जानकारी दिए ।
