फोहोरबाट मोहोर कमाउँदै मध्यविन्दु नगरपालिका

२२ कार्तिक,नवलपरासी।नवलपरासी (बर्दघाट –सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले फोहोरलाई मोहोर बनाउन शुरु गरेको छ।

पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो।
पालिकामा स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाकाले जनाएको छ।

नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको छ।नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि भने एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट प्रदान गर्ने नियम बनाइएको छ।

उत्पादित मल चोरमारामा रहेको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ।सो नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तोकिएअनुसारै नै भएको पालिकाको दाबी छ।

नगरपालिका प्रमुख भिमलाल अधिकारीले यसले माटोको उर्वरा शक्ति बढाउने,वातावरण संरक्षणमा सहयोग पुग्ने,खाद्य उत्पादनमा टेवा पु¥याउने विश्वास लिइएको बताएका छन्। रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई बढाउनसमेत यसले सहयोग पुग्ने आशा नगरपालिकाको छ।

पालिकाले–११, कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरेको छ । गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब चार करोड ३७ लाखको लागतमा फोहर व्यवस्थापनकार्य अघि बढाएको र यसैबाट जैविक मल उत्पादनसमेत सुरु गरिएको बताइएको छ।कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर सङ्कलन गर्ने गरिएको पालिकाले जनाएको छ।