
२५ कार्तिक काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका दुई ठुला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन् ।
शनिबार कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनमा यी दुवै पार्टी नै प्रतिस्पर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेता डा. कोइरालाले अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको समेत बताए ।
देशको राजनीतिक परिस्थितिले ठुला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिस्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भने, “आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो । त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ ।”उनले भने।
