सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

१०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका छन् ।

“म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरूलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौं भनी सन्देशमा लेखेका छन् ।

साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उनले गरेका छन् ।