जनकपुरको लगातार तेस्रो जित

२०, मंसिर काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७।१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो ।