२२, मंसिर काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भइरहेको छ।आईसीजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जानेछिन् ।
डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मनीका विदेश मन्त्रीको निमन्त्रणामा उनी जर्मन जान लागेकी हुन् ।भ्रमणको क्रममा उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । उनको टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहनेछन् । मन्त्री राणा डिसेम्बर २० (पुस ५ गते) स्वदेश फर्कनेछिन् ।
