
४, पुस म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए।
दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् ।
सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए ।
“यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भने । दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् ।
सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।
