
७, पुस काभ्रेपलाञ्चोक । सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उनले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भने, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उनले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गरे ।
