
११, पुस काठमाडौं । शुल्क तोकेको एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन् । दैनिक औसतमा १२ सय हाराहारीले धरहरा चढ्ने गरेका छन् ।
सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन् । सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।बुधबार भने धरहरा बन्द हुने गरेको छ । सुरुमा निःशुल्क खुला गरिएकोमा गत मंसिर ९ गतेबाट शुल्क तोकिएको हो ।
१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
