
१२, पुस मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् ।
आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे ।
“जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उनले भने ।
औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उनले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए ।
