
१९, पुस बैतडी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् ।
दशरथचन्द क्रिकेट मैदानमा संघको सहयोगमा दुई वटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ ।
