
२७, पुस काठमाडौं । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।
उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।”
