
२८, पुस काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताएका छन् ।
हिजोदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौं अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।
अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने बताए ।
कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढंगले अघि बढाइने बताउँदै उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।
