
सीता पौडेल
१ माघ, काठमाडौं । टोखा नगरपालिकाले नगर विकासका थप रणनीतिक योजनाहरु सार्वजनिक गरेको छ ।
पुस २९ गते सोमबार नगरपालिकाको सभाहलमा आयोजित १६ औँ हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगर विकासको थप रणनीतिक योजनाहरु बनाइएको र यसलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए ।
प्रमुख अधिकारीले सो अधिवेशनमा कार्यपालिकाका सदस्यहरुले पेश गरेका विविध विषयका प्रस्तावहरुको सम्बोधन गर्दै ६ महिने आयव्यव विवरण एवं आर्थिक ऐनको संशोधन प्रस्ताव सहितको १६ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित भएको पनि जानकारी दिए ।
कार्यक्रममा उनले नगरपालिकाले पन्ध्रौं नगर अधिवेशनबाट आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि नगर गौरवका विभिन्न आयोजनाहरु स्वीकृत गरी आवश्यक बजेट समेत विनियोजन गरेको र कार्यान्वयनको चरणमा रहेको पनि सुनाए ।
प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत भई कार्यान्वयनमा रहेका नगरपालिका मुख्य–मुख्य आयोजनाहरुमा वडा नं. ८ र ११ मा बहुउदेश्यीय सामुदायिक भवन निर्माण,डिजिटल घर नम्बर वितरण, विष्णुमति करिडोर सडक कालोपत्रे,नगरपालिका भित्रका मुख्य–मुख्य सडकहरुमा स्मार्ट सडकवत्ति जडान,चण्डेश्वरी माद्यामिक विद्यालयको भौतिक पूर्वाधार निर्माण आदि रहेका छन् ।ती योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् ।
नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वजेटमध्ये हाल (पुस मसान्त) सम्म चालु तर्फ रु. १८ करोड ८७ लाख २२ हजार अर्थात २५.५ प्रतिशत तथा पुँजीगत तर्फ रु. ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात् १५.८६ प्रतिशत मात्र बजेट खर्च भएको पनि उनले सुनाए ।
प्रमुख अधिकारीका अनुसार नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु मध्ये हालसम्म १५१ वटा आयोजना सम्झौता भएका छन्।जसमध्ये ६५ आयोजनाहरु सम्पन्न भइसकेका छन् । भने,बाँकी आयोजनाहरु कार्यान्वयनको प्रकृयामा छन् । पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनबाट हालसम्मकै भौतिक प्रगति ३५.१२ प्रतिशत र वित्तीय प्रगति १५.८६ प्रतिशत रहेको छ ।
नगरपालिकाले थप नयाँ मुख्य–मुख्य आयोजनाहरुमा सपनतिर्थदेखि बरुडेश्वर महादेव मन्दिरसम्म निस्कने पैदल मार्ग (ग्रेट वाल निर्माण( को लागि रु. २५ लाख विनियोजन गरेको जनाएको छ।
बिष्णुमति करिडोर कालोपत्रे आयोजनाको लागि थप रु. २ करोड विनियोजन गरेको छ भने,घर नम्बर प्लेट निर्माण एवं वितरणको लागि रु. १ करोड ५० लाख विनियोजन गरेको जनाएको छ । यस्तै वडा नं. ८ मा निर्माणाधिन बहुउदेश्यीय भवन निर्माण कार्यको लागि थप रु.१ करोड विनियोजन गरेको नगर प्रमुख अधिकारीले बताए।
