
३, माघ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महँगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सय जनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।
‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौँ,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवन रक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।
