
१३, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने उनको भनाइ थियो ।
‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जीडीपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अध्यादेश अन्तिम कदम होइन ।
सरकारले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानुन संशोधनको क्षेत्रमा यो कदमहरू चाल्यौँ । यस्ता कदमहरू हामी अनेक पटक चालिरहन्छौँ,’ अर्थमन्त्री पौडेलले भने । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।
