वन ऐन संशोधन गर्ने क्रममा छौँ : वन मन्त्री शाही

१६, माघ काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताएका छन् । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताएका हुन् ।

नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वन ऐनमा रहेका साना-साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताए ।

“वन ऐन अहिले हामी संशोधन गर्ने क्रममा छौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा छौँ । वातावरण संरक्षण ऐन नियमावली बनाउँदै छौँ” उनले भने ।विकास निर्माण र वनबिच नजिकको सम्बन्ध भए पनि साना कारणले अप्ठ्याराहरू सिर्जना भएको बताए ।