
सीता पौडेल
१६ माघ,काठमाडौं । बुढानीलकण्ठ नगरपालिका (बूनपा)ले यहि आउँदो फागुन २ र ३ गते ‘ चौथो वृत्ति तथा रोजगार मेला –२०८१’ आयोजन गर्ने भएको छ ।
मंगलबार बूनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर पालिकाले सो मेला हुनेबारे जानकारी गराएको हो ।

“शिक्षा,सीप र उद्यमशिलता,रोजगारी हाम्रो प्राथमिकता” भन्ने नारासहित हुन लागेको सो मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनमा नगर प्रमुख मीठाराम अधिकारीले जानकारी दिए ।२०७८ सालदेखि श्रृखलाबद्ध रुपमा यस प्रकारका तीन वटा मेला आयोजना गरिसकेको बूनपाले ती मेलाबाट रोजगारमूलक सीप विकासका तालिम लिन चाहने युवाहरुको तथ्यांक समेत संकलन गरेको र यसवर्ष पनि उक्त तथ्यांक संकलन कार्यलाई निरन्तरता दिएको नगर प्रमुख अधिरीले बताए ।
आजभोली युवाहरुलाई सामाजिक सञ्जालले बढी प्रभावित गरेको भन्दै प्रमुख अधिकारीले युवाहरुले आफ्नो नविनतम सोच,जोश र जाँगरको सदुपयोग गर्दै सृजनशील र उद्यमशील बन्न युवाहरुलाई सुझाव समेत दिएका छन् ।

हाल रोजगारीका लागि विदेसिने युवाहरुको जमात बढीरहेको भन्दै उनले युवालाई विदेस पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए ।साथै उनले बा—आमालाई स्याहार गर्ने बेलामा छोराछोरीहरु विदेशमा संघर्ष गर्न बाध्य भएको र यता बृद्ध बा–आमाहरुलाई एकलोपनले सताउने र रोगले थलिने परिस्थिति सृजना भएको भन्दै यसो हुनु निकै दु:खद कुरा रहेको पनि बताए ।
वर्तमान सामाजिक परिवेशको तितो अनुभव साझा गर्दै उनले भने, ‘भरखरको घट्ना हो,एउटा परिवारमा एक बृद्धको मृत्यु भयो,उनको मृत्युको वियोगमा उनकी श्रीमति पनि सिकिस्त विरामी परिन,झन्डै गइनन् ।छोराछोरी देश बाहिर, छिमेकीले किरिया गर्नु पर्ने स्थिति देखियो ।‘ ’देशमा युवाहरुको खडेरी पर्दै गइरहेको छ । यो जटिल समाजिक परिवेश सृजना हुनु देशकै लागि हितकर होइन । यसप्रति सबै गम्भीर र सवेदनशील बन्नै पर्छ ।’ उनले चिन्ता व्यक्त गर्दै भने ।
सम्मेलनमा बूनपाकी उपप्रमुख एवम् मेला मूल आयोजक समितिकी सह–संयोजक अनिता लामाले देशमा रोजगारीको सम्भावनालाई उजागर गरि युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने वर्तमानको टड्कारो आवश्यकता देखिएको भन्दै युवा रोजगारी र रोजगारदातालाई विशेष प्राथमिकतामा राखेर उक्त मेला आयोजना गरिएको जिकिर गरिन् ।
बूनपाभित्र ठूला कम्पनीहरुका मालिक तथा उद्योग व्यवसायीहरुको उल्लेख्य संख्यामा स्थायी बसोबास रहेको उजागर गर्दै उनले ति व्यवसायीहरुसँग यस विषयमा निरन्तर छलफल गरिरहेको बताइन् ।साथै उनले युवालाई आवश्यकता अनुसारको रोजगार प्रदान गर्ने विषयमा केन्द्रित भएर व्यवसायीहरुसँग छलफल गरिरहेको स्पष्ट पार्दै नगरपालिकाले युवाहरुमा आशाको दियो जगाई भविश्यको सुनिश्चतता गर्ने गरि नयाँ तवरबाट कार्य सम्पादन गर्ने रणनीति लिएको समेत स्पष्ट पारिन ।
बूनपाका
शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले सो मेलामा ४८ वटा स्टल रहने र त्यसमा २८ वटा रोजगारदाता, ६ वटा सीप तथा तालिम प्रदायक,३ वटा उन्नयनशील युवा उद्यम,६ वटा रमाइलो शुक्रबार प्रबद्र्धक र बाँकी ५ वटा अन्य विषयका विभिन्न स्टलहरू रहने जानकारी दिए।
१४० जना वेरोजगार युवाहरुलाई साइकोमेट्रिक टेष्टमार्फत वृत्ति पहिचान गरिने र २५० जना युवाहरुलाई यस सम्बन्धि जानकारी प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए ।साथै उनले मेला अवधिमा ५० जना युवाहरुलाई एकल तथा ४०० भन्दा बढी युवाहरुलाई सामुहिक वृत्ति तथा रोजगार परामर्श प्रदान गरिने कार्यक्रम राखिएको जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको नेतृत्वमा हुन गईरहेको सो मेलामा २५ हजारभन्दा बढीले अवलोकन गर्ने र दजनौं वेरोजगार युवाहरुले रोजगार प्राप्त गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले बताए ।

सो पत्रकार सम्मेलनमा मेला व्यवस्थापनको लागि पालिका प्रमुख र उपप्रमुख क्रमशः संयोजक र सहसंयोजक रहने गरि नगरस्तरीय उद्योग बाणिज्य संघलाई समेत समावेश गरिएको र मेलाको मूल आयोजक समिति बनाएको सामाजिक विकास समितिकी संयोजक एवम् कार्यक्रमकी अध्यक्ष शान्ता ढकालले जानकारी दिइन् ।
नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवाहरुले यहि माघ २५ गतेभित्र अनलाइनमार्फत वा वडा कार्यालयमा गई आवेदन दिन पनि नगरपालिकाले आवहा्न गरेको उनले बताइन् ।
सो दुई दिनको मेला व्यवस्थापनको लागि करिब १७ लाख बजेट आवश्यक पर्ने पालिकाले अनुमान गरेको छ ।भने,यसमध्येमा करिब ७ लाख रकम बागमती प्रदेशले सहयोग गर्ने पनि पालिकाले जनाएको छ ।
यसले युवाहरुको लागि स्वदेशमै धेरै सम्भावना रहेको र अब देशमा केही छैन,केही हुदैन भनेर युवाहरु निराश बन्नु पर्ने आवश्यकता नरहेको कुरालाई इंगित गरको छ ।भने,यसबाट युवा रोजगार र उद्यमशीलताका विषयमा स्थानीय सरकारले थप चासो देखाएको र यसप्रति थप जिम्मेवार बन्दै गएको स्पष्ट संकेत गरेको बुझ्न सकिन्छ ।

