
सीता पौडेल
२२ माघ,काठमाडौं । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला समितिले प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस मनाएको छ ।
प्रेस चौतारीको काठमाडौं जिल्ला समितिको भोलि बुधबार हुन गइरहेको छैटौं अधिवेशनको पूर्वतयारी बैठकपश्चात समितिले केक काटेर स्थापना दिवस मनाएको हो । आज मंगलबार काठमाडौंको बागबजार स्थिति हार्दिक होटलमा समितिका अध्यक्ष मुकुन्द भुषालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शान्तराम विडारी,समितिका इन्चार्ज,उपत्यका प्रदेश कमिटीका इन्चार्ज र अध्यक्षलगायत प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहको थियो ।

बैठकपश्चात चौतारीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय सचिव योगेश भट्टराईले केक काटेर शुभकामना तथा शुभेच्छा प्रकट गरेका थिए ।
स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिका अध्यक्ष मुकुन्द भुषालले अधिवेशनको तयारीका कारण हतार हतारमै स्थापना दिवस मनाइएको र सबैलाई खबर गर्न नपाएको बताए।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष राजेन्द्र आचार्य पार्टीका अन्य नेताहरु,प्रेस चौतारीको केन्द्र र प्रदेशका प्रतिनिधि लगायत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

नेकपा (एमाले)का तत्कालिन प्रचार विभाग प्रमुख एवं अग्रज साहित्यकार प्रदिप नेपाल,वरिष्ठ पत्रकारद्धय गोपाल थपलिया र अग्निशिखाको विशेष पहलमा स्थापना भई २०५५ साल मंसिर ७ गते विधिवत रुपमा दर्ता भएर अगाडि बढेको प्रेस चौतारी नेपाल अहिले २६ वर्ष पुरा भएर २७ वर्षको वयस्क अवस्थाको परिपक्व संगठन बनेको छ ।
पत्रकारका संगठनहरुमा गर्विलो र गौरवशाली इतिहास बोकेको र श्रमजीवि पत्रकारका हक,हित र अधिकारका लागि सधैं अग्रपंक्तिमा उभिएर काम गर्दै आएको पत्रकारको साझा र प्रीय संगठन प्रेस चौतारी नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामि फागुन २५,२६ र २७ गते विराटनगरमा गर्ने घोषणा गरिसकेको छ ।
सोही तयारीका लागि चौतारीले अहिले धमाधम जिल्ला शाखाहरुको अधिवेशन गरिरहेको छ ।यहि क्रममा काठमाडौं जिल्ला समितिको छैटौं अधिवेशन भोलि बुधबार बिहान ११ बजेदेखि हार्दिक होटलमा नै हुँदैछ ।
अधिवेशनबाट सकभर सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गर्ने चौतारी काठमाडौंको तयारी छ ।उक्त अधिवेशनको संचार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव लक्ष्मण शर्माले बताए ।
