
१४, फागुन काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायांकन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायांकन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायांकन सुरु भएको छ ।
अभिनेता बुद्धि तामाङ निर्माता बनेको चलचित्र ‘कुस्ती’को छायांकन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको अभिनेता तामाङले बताए ।
“हामीले फागुनदेखि छायांकन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा संगालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भने ।
आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउछन्। उनका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौँ आसपासमा ४५ दिन छायांकन गरिने छ ।
