
१५, फागुन तानसेन । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, सङ्घ संस्थाले यो दिवस मनाउँदै छन् ।
मगरहरूको साङ्गठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।
