प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सर्‍यो,अब कहिले र कहाँ ?

सीता पौडेल (अर्चना)

१६ फागुन, काठमाडौंं। प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको मिति सरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सो महाधिवेशन आगामी चैत्र १० गतेदेखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा नै गर्ने निर्णय गरेको बताए ।उनका अनुसार प्रेस चौतारीको यहि फागुन ११ गते बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको अध्यक्ष बस्नेतले बताए।उनले भने, ‘ जिल्ला र प्रदेशले तोकिएको समय अवधिभित्र आफ्ना अधिवेशनहरु सम्पन्न गर्न नसक्दा केन्द्रिय अधिवेशन सार्नु परेको हो ।’

साथै उनले सो महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै नेपालको सञ्चार क्षेत्रमा देखिएका समस्याहरु केलाउने, यसबारे गहन छलफल गर्ने र समाधानका थप उपायहरु खोजी गरिने बताए ।उक्त महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा मनाउँदै सभ्य र भव्य तवरबाट सम्पन्न गर्ने, सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने र नेतृत्वमा सर्वसम्मती जुट्न नसके लोकतान्त्रिक पद्धति अवलम्बन गर्दै चुनावी माध्यमबाट नेतृत्व चयन गरि नयाँ कार्यसमिति बनाइने पनि अध्यक्ष बस्नेतले बताए ।

चौतारीको यस अघिको नवौं राष्ट्रिय महाधिवेशन  ‘ समुद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारिको मूल मर्म !’ भन्ने नाराका साथ निकै भव्य,सभ्य र  ऐतिहासिक तवरबाट सुन्दर नगरी पोखरामा सम्पन्न गरिएको पनि उनले जानकारी दिए ।

विं.सं. २०५५ सालमा नेकपा (एमाले)का तत्कालिन प्रचार विभाग प्रमुख एवम् अग्रज पत्रकारद्धय गोपाल थपलिया र अग्निशिखाको विशेष पहलमा स्थापना भएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई विधिवत रुपमा अगाडि बढेको प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल गत माघबाट २६ वर्ष पुरा भएर २७ वर्षको एक परिपक्व संगठन भएको पनि अध्यक्ष बस्नेतले बताए ।

साथै उनले प्रेस चौतारी नेपाल पत्रकारहरुका संगठनहरु मध्येको अग्रणी संगठन रहेको पनि  दाबी गरे ।

चौतारीले यसअघि यहि फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा सो महाधिवेशन गर्ने निर्णय गरेको थियो ।