
मनिषा गुरुङ
१७ फागुन,काठमाडौं ।आज शून्य भेदभाव दिवस ।विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।
शून्य भेदभाव दिवस समावेशीकरण,स्नेह,शान्ति,लैङ्गिक समानता एचआइभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ ।
सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो।
हाम्रो समाजमा विगतदेखि वर्तमानसम्म पनि कहिले जातीय रुपमा त कहिले लिङ्गिक रुपमा विभेद हुने गरेको पाइन्छ ।जानेर वा नजानेर यस्ता विभिन्न प्रकारका विभेदमा समाज अझैपनि जकडिए कै छ ।
आर्थिक,सामाजिक,साँस्कृतिक र राजनीतिक तवरबाट गरिने विभेदले पनि कानुनी रुपमा पूर्णरुपमा विभेदरहित हाम्रो सभ्य समाजलाई यस्ता किसिमका व्यवहारगत भेदभावले गिज्याइरहेको छ । यो हाम्रो जस्तो सभ्य र विकाशोन्मुख राष्ट्रका लागि शोभनीय पक्कै होइन ।
राष्ट्रले लिएको समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षामा पनि हाम्रो समाजमा कुनै पनि किसिमको भेदभाव हुन हुदैन भन्ने दृण संक्ल्प गरिएको छ । यसर्थ पनि समाजमा अमन – चयन कायम गरि दीगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न विभेदरहित समाज निर्माण गर्नु जरुरी छ ।
