
१७ फागुन,काठमाडौं ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताएका छन्।
नेकपा एमाले जिल्ला कमिटि पाल्पाले शुक्रबार पाल्पाको तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा उनले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने पनि जिकिर गरे ।
उनले भने, ‘ एमालेको टोपी लगाउने।म एमाले हुँ भन्ने र भ्रष्टाचार गर्ने नेता तथा कार्यकर्ता ढिलो चाँडो एमाले रहने छैनन् ।आफ्नो स्वार्थलाई त्यागेर जनतासँग एकाकार भएर काम गर्नुपर्ने हुन्छ,तब एमाले भइन्छ ।’
एमालेलाई श्रेष्ठता हासिल गर्नेगरी काम गर्न पनि उनले माताहतका तल्ला कमिटीका सबैलाई निर्देशन दिए। श्रेष्ठ बन्नका लागि सक्रियता,पहलकदमी र जनसेवा अति अवश्यक पर्ने पनि उनले स्पष्ट पारे । भष्टाचार निमूल गरि शुसासन कायम गर्ने,विकास निर्माणका काम देखिने गरी गर्नुपर्ने,नेपालीलाई उत्पादनमा जोड्नु पर्ने र स्वरोजगार सृजना गर्ने खालका कार्यक्रम गर्नुपर्ने उनको भनाई थियो ।
‘ नेताले म जेल परेको थिएँ।आन्दोलन गरेको थिएँ भनेर हुँदैन।काम गर्नुपर्छ। विगत सम्झिएर केही हुनेवाला छैन। वर्तमान अवस्थामै जनताले महसुस गर्न सक्ने गरी काम गरेर देखाउनुपर्छ। बितेका दिन सम्झने होइन। समयसापेक्ष प्रतिस्पर्धा गर्न सक्ने एमाले बन्नुपर्छ।हामीले बनाउनुपर्छ ।’उनले थपे।
