‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

१७, फागुन काठमाडौं । चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान सुरु गरेको थियो ।

माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका शिक्षकरतलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरूले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ ।चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षकहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ ।

चितवनका ७ वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्यूनीकरणमा देखिएका समस्या, चुनौती र जबाफदेहिताको क्षेत्रबारे शिक्षकहरूलाई प्रशिक्षण दिइन्छ ।