साना तथा मझौंला होटल व्यवसायीहरु भन्छन् : सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भयो

सीता पौडेल (अर्चना)
१८ फगुन,काठमाडौं ।साना तथा मझौंला होटल व्यवसायीहरुले सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनको उद्घाटन सत्रमा उपस्थिति  सम्बन्धित विभिन्न संगसंगठनका नेतृत्वकर्ताहरुले होटल व्यवसाय सञ्चालनका लागि देखिएका समस्याहरुको समाधानको लागि सरकारको ध्यानाकर्षण समेत गरे ।

सरकारमा मुख्य भूमिकमा रहेको पार्टी नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनिहरुले व्यवसायगत समस्या प्रस्तुत गर्नुका साथै समाधानका उपायहरु सहित सरकारको ध्यनाकर्षण गराएका थिए ।

सो कार्यक्रममा संघका अध्यक्ष पदम लिम्बुले साना तथा मझौला होटल व्यवसायीहरुबिच संघले एकताको भावना जागृत गर्ने काम गर्दै आएको र  होटल व्यवसायीहरुकाबिच हरेक कुरामा एकमत रहेको भन्दै समस्या समाधानका लागि सरकारी नीतिगत अप्ठयारालाई सहज बनाउन थप पहल गरिने समेत जिकिर गरे ।

संघका कोषाध्यक्ष भविश्वर दुबेले संघलाई यहाँसम्म ल्याउनका लागि अध्यक्ष लिम्बु लगायतको आफ्नो टिमले निकै संघर्ष गरेको बताए । 

अध्यक्ष  लिम्बुले अवैध रुपमा च्याउ उम्रेझैं विस्तार भएका होटल व्यवसायलाई नियमन गर्ने निकाय नहुँदा  बैधानिक तवरबाट सञ्चालन भएका व्यवसायीहरुलाई मर्का परेको भन्दै नीतिगत सुधारका लागि संघको ठोस मार्गचित्र समेत प्रस्तुत गरे ।

व्यवसायीहरुले उजागर गरेका समस्याहरु :

— बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण प्राप्त गर्न कठिनाई
— उच्च ब्याजदरको भार
—व्यवसायमा लगानी गर्र्ने उपयुक्त वातावरण नहुनु
— कोभिड—१९ पछि व्यवसाय पूर्नस्थापनामा समस्या
— राजनीतिक अस्थिरता
—कर तथा लाइसेन्स नविकरण प्रकृयामा जटिलता
— पर्यटनमैत्री कानुनको अभाव
— अनौपचारिक अर्थात अबैध होटल व्यवसायको प्रभाव
—आत्तरिक तथा बाह्य पर्यटकहरुको न्युन आगमन
— प्रभावकारी डिजिटल मार्केटिंगको अभाव
—होटल तथा रेष्टुरेण्टमा गुणस्तरीय जनशक्तिको अभाव

व्यवसायीहरुले सुझाएका समस्या समाधानका उपायहरु :

—सहुलियतपूर्ण ऋण कर्जाको व्यवस्था
—होटल व्यवसायमा विमा प्रणाली लागू
—लगानी बुद्धि गर्न सरकारी अनुदान र सहुलियतको नीति
—कानुनी तथा नीतिगत सुधार
—होटल व्यवसाय प्रबद्र्धनका लागि विशेष कानुन र सुविधाको व्यवस्था
— अनौपचारिक रुपमा सञ्चालन भएका होटल व्यवसायलाई नियमन गर्ने नीति

अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले होटल व्यवसायको सेवा विस्तारविना नेपालको पर्यटन उद्योगको विकास सम्भव नभएको भन्दै उचित र आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  

अधिवेशनबाट पुनः लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ।