
२१, फागुन काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले अनुगमनका क्रममा दिइएका निर्देशन तथा सुधारका लागि सुझावका कारण आएको परिवर्तन महसुस योग्य हुनुपर्ने बताएकी छिन् ।
बुधबार योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको अनुगमन प्रतिवेदनमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, योजना तर्जुमा गर्दागर्दै कार्यान्वयन योजना बनाउने, योजना कार्यान्वयन थाल्दाथाल्दैदेखिका चरणहरूमा अनुगमन गर्ने, कार्य सञ्चालनका लागि आन्तरिक संवाद बढाउने, अभिलेखन र प्रतिवेदनलाई महत्त्व दिने प्रणालीको विकास गरेर गुणस्तर सुधारलाई संस्थागत गर्दै लगिने बताइन् ।
‘भौतिक पूर्वाधारसँग सम्बन्धित डिजाइन बनाउँदा आकाशे पानी पुनभरण, हरियाली प्रवर्धनलगायत वातावरणीय पक्षमा ध्यान दिनुहोला ।’ उनले कानुनी प्रबन्धका कारण देखिएका बेमेल र दोहोरोपनाको प्रसङ्गमा विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै भनिन्, ‘क्षेत्रगत रूपमा देखिएका समस्यालाई मासिक प्रतिवेदनका रूपमा दस्ताबेज बनाउनू । यसलाई छलफलमा ल्याउनू । यसका आधारमा समाधान खोज्दै अगाडि बढ्नुपर्छ ।’
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा।सुमननरसिंह राजभण्डारीले, नियमित र आकस्मिक अनुगमन बराबरी गर्नु पर्नेमा जोड दिँदै, भौतिक पूर्वाधार योजना कार्यान्वयनको पहिलो चरणबाटै अनुगमन थाल्ने प्रणालीमा जोड दिए ।
