मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

२३, फागुन मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन् ।

मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ ।

बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ । बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र कुनै पनि सवारीसाधन लैजान पाइँदैन । यो त्यहाँको गाउँसमाजले बनाएको नियम हो ।