
२५, फागुन इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ ।
कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।
दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भने, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् ।
फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भने ।
