पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई

२७, फागुन काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचानसहितको संघीयता आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको बागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले भाषा, संस्कृति र भूगोल मिलेको ठाउँमा स्वायत्त शासनको व्यवस्था गर्नुपर्ने बताए । उनले भाषा र संस्कार सहितको संघीय शासन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने बताए । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो ।

होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरूकै स्वायत्त शासन चलाउन दियो भने उनीहरूको पनि आत्मबल बढ्छ, सम्मान बढ्छ र उनीहरू आफ्नै भाषामा लेखपढ गर्दाखेरी मस्तिष्कको विकास हुन्छ ।’अध्यक्ष भट्टराईले विदेशमा रहेका नेपालीलाई सोही स्थानबाट चुनावमा मतदान गर्ने व्यवस्था गर्न पार्टीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।